दफा २७
नोक्सानी बिगो भर्ने भराउने

(१) कुनै ठेकदारले आफूले गरेको कबूलियत बमोजिम काम नगरेमा वा ठेक्काको अवधि भुक्तान हुनुभन्दा अगावै ठेक्का छोडे वा तोडेमा त्यसबाट नेपाल सरकारलाई भएका नोक्सानी र नेपाल सरकारले ठेकदारबाट लिनु पर्ने बाँकी र त्यसको दश प्रतिशत सूद समेत सो ठेकदारले राखेको डिपोजिटबाट असुल नभए निज र निजको जमानी हुने व्यक्तिबाट कानूनबमोजिम असुल उपर गरिनेछ ।

तर आफ्नो काबु बाहिरको परिस्थिति परी ठेकदारले सो ठेक्काको काम गर्न नसकेको रहेछ भने नेपाल सरकारले सोबमोजिम असुल गर्नुपर्ने अंकमा मनासिब सम्झे जति अंक मिनाहा दिन सक्नेछ ।

(२) नेपाल सरकारले ठेक्का बन्दोबस्त गरी ठेकदारलाई दिएको पट्टा वा चलन पूर्जीको कुनै शर्तको उल्लंघन गरेमा वा ठेक्काको अवधि भुक्तान हुनुभन्दा अगावै ठेक्का छुटाएमा त्यसबाट ठेकदारलाई भएको हानी नोक्सानी नेपाल सरकारले व्यहोर्नु पर्छ ।